top of page
Search

मन्दीप लामालाई विश्व चिया दिवसमा चिया कविता पुरस्कार 2025 द्वारा विभुषित

  • hamrotakchang
  • May 24
  • 2 min read

मन्दीप लामालाई विश्व चिया दिवसमा चिया कविता पुरस्कार 2025 द्वारा विभुषित


गान्तोक,23 मई। 

सिक्किममा लामो समयदेखि साहित्य, कला, सङ्गीत र अनुवाद जस्ता महत्वपूर्ण विधामा आफ्नो दर्बिलो योगदान दिँदै आएका मन्दीप लामालाई चिया कविता सिक्किमले वर्षेनी प्रदान गर्ने चिया कविता पुरस्कारले विभुषित गरेको छ।


ree


विश्व चिया दिवसको अवसरमा प्रदान गरिएको चिया कविता पुरस्कार विजेता लामालाई सिक्किम विधानसभाका सचिव ललित गुरुङ, डॉ शोभाकान्ति थेगिम (लेप्चा) स्मृति प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार पेम्पा तामाङको वाहुलीबाट अङ्गवस्त्र, पुष्प गुच्छा , ताम्रपत्र र नगद राशी 15 हजार रूपियाँको पुरस्कारले पुरस्कृत गरियो। गान्तोकको जीवन थिङ मार्गमा स्थित रचना बुक्समा आयोजित विश्व चिया दिवसको अवसरमा पुरस्कार वितरण सितै कविता देउराली काव्य सत्र आयोजित गरिएको थियो। जसमा भारत नेपाल र भोटाङका स्वनामधन्य कविहरूले शक्तिशाली कविता वाचन गरेका थिए। कार्यक्रममा पर्यवेक्षकको रूपमा सिक्किम केन्द्रिय विश्वविद्यालयका सह प्राध्यापक डॉ बलराम पाण्डे रहेका थिए। उनले आफ्नो पर्यवेक्षकीय मन्तव्यमा वर्तमान कविताको धाराबारे सारगर्भित विचार राखे। पुरस्कृत व्यक्तित्व लामाले अस्सीको दशकमा सिक्किममा क्याडोस नामक संस्थाले गरेको साङ्गीतिक, नाट्य र कलाको विकास दिशामा गरिएको कार्यहरूको जानकारी दिए। विशेष गरेर उनको चर्चित नाटक रक्तिम रातको विभिन्न पक्षहरूबारे रोचक जानकारी प्रदान गर्दै तत्कालिन समय र प्रतिकुल परिस्थिति गरिएको कलाको प्रदर्शनबारे रमाइलो किस्साहरू सुनाएर अतितको गौरवशाली समयलाई वर्तमान पुस्ता सित साझा गरे।


कार्यक्रममा चिया वार्ता प्रस्तुत गर्दै गोपाल के छेत्रीले चिया हाम्रो जनजीवनको हिस्सा रहेको तथा यसले मानसिक आर्थिक सामाजिक र सांस्कृतिक पक्षहरूलाई कसरी बोकेर ल्याएको छ भन्नेबारे अवगत गराए। उनले सिक्किममा चियाको इतिहास र नयाँ चिया उद्योगको गतिविधिबारे पनि जानकारी गराए।

कार्यक्रममा कविता देउरालीमा उपस्थित नेपालका कवि हाङयुग अज्ञातले बाल्य जीवनको रोचक प्रसंगसितै कविता सुनाए। यसैगरि कवि प्रकाश थाम्सुहाङ, देवान किराती, अमित थेबे र गिरीराज बास्कोटाले कविता प्रस्तुत गरेका थिए। अर्कोतिर भोटाङका एक्लो प्रतिनिधि कवि तुम्बेहाङ लिम्बूले चियाबारे कविता पस्किए भने दार्जिलिङबाट योगिता राई, प्रभात राई चिसोले कविता प्रस्तुत गरे।


दार्जीलिङकै बाँसबोटे मुस्कान समुहका प्रतिनिधि कविहरू कमल भट्टराई, जीवन लिवाङ, सुरेन लिम्बू र आरती ठकुरीले कविता देउरालीमा कविताका पाती चडाए। कालेबुङबाट उमेश उपमा अनि सिलगढीबाट निरज थापाले कविता देउरालीमा उपस्थिति दिएका थिए। सिक्किमबाट सविना राई, पुजा छेत्री, सोनाम पाल्जोरले कविता देउराली 2025 लाई प्रतिनिधित्व गरेका थिए। कार्यक्रममा सिक्किमका विभिन्न विश्वविद्याल, महाविद्यालका प्राध्यापकगण, शोधार्थी, अनुवादक, कवि, पत्रकार तथा चिया र कवितालाई माया गर्नेहरूको बाक्लो अनि अन्तिम क्षणसम्म उपस्थिति रहेको थियो।


चिया कविताका संयोजक प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा सहभागी कविहरूलाई सम्झाउनी प्रदान गरियो भने चिया कविताका वरिष्ठ सहयात्री कथाकार युवा बराललाई वर्ष 2025 को साहित्य अकादमी पुरस्कारले विजयी बनेको सुखद पलमा खादा र उपहारको साथमा सम्मान गरियो।




 
 
 

Comments


Submit your articles to hamrotakchang@gmail.com or to Kala Avum Sanskriti Vikash Parisad, Takchang, P.O-Amba, Takchang Primary School Building, 737133.

© kala Avum Sanskriti Vikash Parisad, Takchang, 

  • Facebook
  • Twitter
bottom of page